सोलुखुम्बु । नेपाली आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै कीर्तिमान तोडेका छन् । उनले शुक्रबार साँझ २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखे । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् । उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए । कम्पनीका अनुसार, कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । उनीहरु तीन दिनअघि मंगलबार आधार शिविरबाट हिँडेका थिए । सेभन समिटले यो टोली आज चौथो शिविरमा फर्किसक्ने जनाएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् ।