नेपाली काङ्ग्रेसले गण्डकी प्रदेशमा एक सांसदलाई अविश्वासको प्रस्तावमा मत दिन रोकेर सरकारले गुण्डागर्दी गरेको बताएको छ। बुधबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि थियो। तर, राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही गायब भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ। गायब बनाइएका शाही बुधबार बेलुका पोखराको चरक अस्पतालको आईसीयूमा भेटिएपछि काङ्ग्रेसको औपचारिक प्रतिक्रिया आएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारले स्वस्थ मानिसलाई अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर बन्दी बनाएको आरोप लगाए। उनले अविश्वासको मत दिन रोक्न सत्ता संरक्षित गुण्डागर्दी परिचालन गरिएको बताए । शाहीको मंगलबार पीसीआर परीक्षण गरिएको थियो । सो परीक्षणमा शाहीमा कोरोना नभएको पुष्टि भएको काङ्ग्रेस प्रवक्ता शर्माले रिपोर्ट नै सार्वजनिक गरेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको सांसद शाहीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ छ। शाहीलाई चरक अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो। शर्माले ट्वीट गर्दै भनेकाछन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ? उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’ आफ्ना सांसद बेपत्ता भएको भन्दै जनमोर्चाले संसद बैठक स्थगित गर्न माग गरेपछि गण्डकी प्रदेश सभा अनिश्चित समयमा लागि स्थगित भएको छ। बैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव कांग्रेसका सांसद कृष्णचन्द्र पोखरेलले टेबुल गरेका थिए। सो अविश्वासको प्रस्तावमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन्। मुख्यमन्त्रीमा कांग्रेसबाट पोखरेललाई प्रस्ताव गरिएको छ। तर, कांग्रेसकै मुख्यमन्त्री बन्न नदिनेगरी सरकारले सांसद बन्दी बनाएपछि कांग्रेस असन्तुष्ट भएको हो। सो प्रदेशमा नेकपा एमाले २७, कांग्रेसका १५, माओवादी केन्द्र १२ (सभामुखसहित) जनमोर्चा ३, जसपा २ र १ जना स्वतन्त्र सांसद रहेका छन्। अविश्वासको प्रस्तावको पक्षमा मत दिने सांसद नै गायब पारेपछि अविश्वासको प्रस्ताव तुहाउने सरकारको योजना रहेको भन्दै कांग्रेस आक्रोशित भएको हो।