काठमाडौं । साविक नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसमूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ । सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले पूर्वएमाले नेताहरु एमालेमै रहने र प्रचण्डसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदारहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने पनि श्रेष्ठले बताए । ‘सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भीर छलफल गर्यो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर गरेको राजनीतिक फैसलाका रुपमा लिएको छौं । रिट निवेदको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति हाम्रो गम्भीर असहमति राखेका छौं,’ उनले भने,‘असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयको प्रक्रियमा जाने स्पष्ट छ । कानुनी ढंगले पनि उपचार खोज्ने प्रक्रिया अगाढि बढाउँछौं ।’ नेकपाको रुपमा भएको स्थायी कमिटीको यो बैठक नै अन्तिम भएको नेता श्रेष्ठले बताए । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेको श्रेष्ठका भनाइ छ । यद्यपी सरकारले माओवादीलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए । श्रेष्ठले नेपालको कम्युनिष्टहरुलाई एउटै केन्द्रमा राख्ने पहलकदमी आफूहरुले जारी राख्ने बताए । उनले नेपालको संविधान कार्यान्वयन गरेर समृद्ध नेपाल बनाउने र समृद्धिको प्रतिफल आम जनतालाई दिने गरी अगाडि बढ्न अरु सबै लोकतान्त्रिक शक्तिहरुसँग एकताबद्ध भएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति राखेको र यसलाई कार्यान्वयन गरेर जाने क्रममा अदालतले भनेअनुसार तत्कालीन एमाले र माओवादी केन्द्र बन्ने उनले बताए । न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि आफूहरु जाने उनले बताए । 'त्यसक्रममा पार्टी एकताको उद्देश्य सहि भएको र पार्टी एकताको कार्य पनि सहि भएको कारणले यस प्रक्रियामा अगाडि बढ्न जे सम्भव छ त्यो पहलकदमीलाई जारी राख्छौं,' उनले भने । बैठकले नेपाली कम्युनिष्ट आन्दोलनको ००६ सालदेखिको विकासक्रम र मुख्यतः २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यका बारेमा गम्भिरतापूर्वक अविचलित रुपमा अगाडि बढ्ने पनि संकल्प गरेको उनले बताए । 'विशेषतःहामीले नेपालमा सातदशक भन्दा लामो संघर्ष गरेर नयाँ ढाँचाको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संविधानमा समावेश गरेका छौं,' श्रेष्ठले भने,'त्यसलाई कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्ने र समाजवाद स्थापना गर्ने बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ जुन पार्टी एकता गरेका थियौं त्यो उद्देश्य सहि थियो । त्यसलाई केन्द्रमा राखेर गरिएको पार्टी एकता पनि सहि थियो भने समिक्षा गरेका छौं । '