काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले रोकिदिने विश्वास लिएका छन् । उनले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह पनि गरे । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताए। अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि उनले बताए। प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ छ। उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गरे। त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन कुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन्। कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए। नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे।