Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पुर्व प्रधानन्यायाधीशप्रति प्रधानमन्त्री ओली आक्रोशित, दिए कडा चेतावनी

पुर्व प्रधानन्यायाधीशप्रति प्रधानमन्त्री ओली आक्रोशित, दिए कडा चेतावनी

दैनिकी न्यूज

२५, पौष २०७७
पुर्व प्रधानन्यायाधीशप्रति  प्रधानमन्त्री ओली आक्रोशित, दिए कडा चेतावनी
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुर्व प्रधानन्यायाधीशप्रती आक्रोशित भएका छन् । पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई धम्क्याउने, अलमल्याउने र गुमराहमा पार्न खोजेको आरोप लगाएका छन् । शनिबार आफू निकटका युवा संघको भेलामा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले शुक्रबार जारी गरेको विज्ञप्तिलाई लक्षित गर्दै त्यस्तो आरोप लगाएका हुन् । संसद विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशहरूले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेका थिए । उनीहरूले संवैधानिक व्यवस्थाको गलत उल्लेख गरेको, संविधानमा नभएको अधिकार उल्लेख गर्दै संसद विघटन गरेको भन्दै ओलीको कदमको विरोध गरेका थिए । एकपल्ट अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने भन्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई चेतावनी दिएका हुन् । 'पोहोर, परार जागिर खाएको थिए र अहिले पनि जागिर खाएको छु भन्ने नठान्नुहोस् । सर्वोच्च अदालतको सर्वोच्च पदमा रहेका व्यक्तिहरूले अदालतलाई गुमराहमा पार्ने, धम्क्याउने, अल्मल्याउने गर्न पाउँदैन । बन्द गर्नुपर्छ,' उनले थपे, 'स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्छ । न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?' सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ भइरहेको छ । कानुन व्यवसायीहरूले बृहत् पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनुपर्ने माग गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने संवैधानिक इजलासबाट नै मुद्दाको टुंगो लगाउनुपर्ने बताएका छन् । उनले संविधानमा संवैधानिक इजलासमा नै यस्ता मुद्दा जाने भनेकाले अन्य इजलास खोज्न नहुने बताए । 'संविधानमा संवैधानिक इजलास छ । अहिले केही अजासु छन् । संवैधानिक इजलासले हुँदैन भनिरहेका छन् । कुन संविधानले भन्यो संवैधानिक इजलासले हुँदैन ?,' ओलीको प्रश्न थियो । बाहिरबाट यस्तो इजलास चाहियो र उस्तो इजलास चाहियो भन्ने र सर्वोच्च त्यसरी नै चल्ने हो भने किन सर्वोच्च अदालत चाहिने भनेर ओलीले असन्तुष्टि पोखेका छन् । उनले संसद विघटनविरुद्धमा लागेकाहरू 'हण्डीबाट चलेको' आरोप लगाएका छन् । उनले त्यसरी लागेकाहरूको बोली 'बिकाउ' भएको बताए । आफू दुई तिहाईको प्रधानमन्त्री भएकाले संसदमा कुनै विकल्प नरहेको भन्दै संसद पुनःस्थापना नहुने दोहोर्‍याए । आफूसँग १ सय ७४ सांसद रहेकोले अहिले अर्को सरकार गठनै हुन नसक्ने भएकाले नै संसद विघटन गरिएको ओलीको तर्क थियो । उनले संसद विघटन संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद विघटनको सिफारिस गरेको तर्क गरे । संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले संसद विघटन गरेकाले आगामी वैशाखका लागि घोषणा गरेको निर्वाचन हुने ओलीले बताए । उनले आफूले निर्वाचन नै चाहेको बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । जसको राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरूले विरोध गरिरहेका छन् । 

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - १९:१२:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology