Logo

सोमवार, श्रावण २५ गते २०८३

images

डा. केसीले प्रधानमन्त्री ओलीलाई भने श्री ७ महाराज !

डा. केसीले प्रधानमन्त्री ओलीलाई भने श्री ७ महाराज !

दैनिकी न्यूज

२५, पौष २०७७
डा. केसीले प्रधानमन्त्री ओलीलाई भने श्री ७ महाराज !
images

काठमाडौं । डा. गोविन्द केसीले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली 'श्री ७' महाराजको जस्तो भएको बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताए । 'ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्,' डा. केसीले थपे, 'सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु, संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो ।' प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने डा. केसीको भनाइ थियो । जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको उनले बताए । संसद् विघटनविरुद्ध जनताले ठाउँठाउँमा विरोध गरिरहेको डा. केसीको भनाइ थियो । संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आश रहेको डा. केसीले बताए । 'अदालतले संविधानको रक्षा गर्छ भन्ने आस गरेका छौं,' उनले भने । संसद् विघटनको निर्णयविरुद्ध न्यायालयले फैसला नदिने हो भने ओलीको कदम विरुद्ध आएका जनता सर्वोच्च विरुद्ध लाग्ने खतरा हुने र न्यायालयमाथिको विश्वासमा कमी आउने केसीको भनाइ थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए । उनले आगामी दिनमा प्रदेश सरकारहरू पनि विघटन गर्ने सम्भावना रहेको बताए । उनले वैशाखमा निर्वाचन गराउनका लागि घोषणा नगरिएको बताए । प्रदर्शन गर्न माइतीघर गएकाहरूलाई सुरक्षाकर्मीले केहीबेर अवरोध गरेका थिए ।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - १५:०८:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology