काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए ।
तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।
स्रोतका अनुसार प्रधानन्यायाधीश पनि बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । सभामुख अग्नि प्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघि नै बैठकमा अनुपस्थित छन् ।
संवैधानिक परिषद्को बैठकमा सभामुख अनुपस्थित भएपछि त्यसैको प्रतिशोधका रूपमा प्रधानमन्त्री ओलीले अध्यादेश मंगलबार राष्ट्रपतिबाट जारी गराएका थिए । उक्त अध्यादेश फिर्ता हुनुपर्ने मागसहित बुधबार नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह संविधानअनुसार संसद्को विशेष अधिवेशन माग गर्दै सांसदहरूको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेपछि स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन ओली तयार भएका थिए ।