काठमाडौं । अध्यादेश ल्याएर गणपुरक संख्या पुर्याइ मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्ति सिफारिसबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घण्टा बैठक चलेको थियो । बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिबारे छलफल भएको परिषद्का सदस्य तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । 'आजको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिबारे छलफल भएको छ,' उनले भने । अध्यक्षबाहेक चारजना उपस्थित हुनुपर्ने यसअघिको व्यवस्था उल्ट्याएर मंगलबार दिउँसो अध्यादेश जारी गरी कायम संख्याको बहुमत भए बैठक बस्ने व्यवस्था गरी परिषद्को बैठक बसेको थियो । बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाँदा ५ बजेलाई सारिएको थियो । दिउँसो अध्यादेश ल्याएर बैठक बस्न सहज बनाएको थियो । बिहानको बैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दलका नेता एवं परिषद् सदस्य शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । अध्यादेश ल्याएपछि बसेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना उपस्थित थिए । बैठक भोलि फेरि बस्ने तिमिल्सिनाले बताए । यसैबीच परिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । उनी एकघण्टा छलफल गरेर बालुवाटार फर्किएको स्रोतले जनायो ।