ललितपुर । पार्टीमा थाहै नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संबैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि त्यसले सत्तारूढ दल नेकपामा थप विवाद चर्काउने भएको छ । नेताहरूले अध्यादेशको बिरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले त खारेज गर्न माग गरे । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश तुरुन्त फिर्ता लिन माग गरे । नेता नेपालले पार्टीलाई अन्धकारमा राखेर जारी भएको अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने बताएका हुन् । स्थायी कमिटी सदस्य जनार्दन शर्माले भनेका छन्, 'फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटोबाहेक केही हुन सक्दैन । हतास मनस्थितिबाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’ दुई अध्यक्षको राजनीतिक प्रतिवेदनमाथी स्थायी समितिमा भैरहेको छ्लफल अब भने प्रधानमन्त्रीको जवाफ माग्ने अवस्थामा पुगेको छ । मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।