काठमाडौं । कार्यकारी अध्यक्ष प्रचण्डको जवाफ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले लिखित रुपमा तयार पारेको प्रतिवेदन पेश गर्दै त्यसमाथि छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसिरहेको छ । पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबिच पछिल्लो समय बढेको विवादका कारण यो बैठकलाई महत्वपूर्ण मानिएको छ । प्रचण्डले कात्तिक २८ गतेको सचिवालयमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेश गरेका थिए । त्यसैको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आजको बैठकमा दिइरहेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेको थियो । तर बहुमत सदस्यलाई साथ लिएर उनले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै दस दिनको समय माग गरेका थिए । उनलाई दस दिनको समय दिएर आज शनिबार बैठक बोलाइएको हो । यसैबिच नेकपाको सचिवालय बैठकलाई महत्त्वपूर्ण मानेर स्थायी समिती सदस्यहरु जनार्दन शर्मा र शंकर पोखरेलले सामाजिक संजालमा लेख्दै सहमती गरेर विवाद समाधान गर्न सुझाव दिएका छन् । शर्माले नेता हुने हो भने छाती ठूलो पार्न र विधि, पद्धति र मर्यादा ख्याल गर्दै नेता बन्न सुझाव दिएका छन् । उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले दुबै अध्यक्षको प्रतिवेदन स्थगित गरेर नयाँ प्रस्ताव ल्याउन सुझाव दिएका छन् ।