काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकका लागि मनाउन बालुवाटार पुगेका नेकपाका कार्यकारी अध्यक्ष सहितका बहुमत सचिवालय सदस्यले एक/ दुईदिन भित्र बैठल बोलाउन आग्रह गरेका छन् । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकपछि ओलीलाई बैठक बोलाउन लिखित पत्र बोकेर उनीहरु बालुवाटार पुगेका थिए । शुक्रबार पनि पार्टी कार्यालयमा यिनै सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक भएको थियो । त्यहाँ औपचारिक बैठकका लागि अर्का अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने सहमति भएको थियो । त्यसैअनुसार ५ जना ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । शुक्रबार र शनिबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिएनन् । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले जुनसुकै बेला पनि पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको बिफ्रिङ गरेका थिए । दाहालले आफूसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको र औपचारिकता मात्रै बाँकी रहेको पनि दाबी गरेका थिए । दाहालको यस्तो बिफ्रिङपछि सचिवालयको अनौपचारिक बैठकले एकताका लागि ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले तत्काल सचिवालयको बैठक बोलाउन लिखित रुपमै माग गरेको बताए। ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा केन्द्रीय सचिवालयको बैठकका लागि, सहमतिका लागि आग्रह गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने। उनले कोरोनाले पारेको असर र जनताको स्वास्थ्यका समस्या समधान गर्न, पार्टी स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्दै अगाडि बढ्न आवश्यक छ भनेर छलफलका लागि सचिवालय बैठक माग गरेको उनले बताए। अध्यक्ष ओलीले बैठकका विषयमा कुनै निष्कर्ष नदिएको प्रवक्ता श्रेष्ठले बताए। ‘अध्यक्ष ओलीले आज बैठकका विषयमा केही निष्कर्ष दिनु भएको छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘हामी भोलि या पर्सिसम्ममा बैठक बसेर यी सबै विषयमा गम्भीरतापूवक छलफल गरौँ र पार्टीलाई एकताबद्ध बनाउने, विधि पर पद्दतिका आधारमा पार्टी सञ्चालन गर्ने, निर्णय सबैले कार्यान्वयन गर्ने र छलफलमा स्वतन्त्रता काम कारबाहीमा एकरुपता कायम गनर्जे पद्दतिका आधारमा निष्कर्ष निकालौँ भनेका छौँ।’ अध्यक्ष ओलीले बैठक बोलाउनुभएन भने के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले आफूहरुले बैठक नबोलाउने विषयमा नसोचेको बताए। ‘हामी त्यसरी सौच्दैनौँ’, उनले भने, ‘होइन भने के गर्ने भनेर सच्ने बेला यो होइन्, सबै मिलेर छिटोभन्दा छिटो बैठक गर्ने र बैठकबाटै सकारात्मक निष्कर्ष निकाल्ने आजको आवश्यकता हो।’