काठमाडौं । सत्तारुढ दलभित्र देखिएको विवाद समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छिन् । उनले मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि अपरान्ह शितल निवास पुगेका गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार भेटमा राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपाली पनि उस्तै भूमिका निभाउन गौतमलाई सुझाव दिएकी छन् । ‘राष्ट्रपतिले गौतमलाई पार्टी एकता संकटमा परेको बेला विगतमा पनि तपाईंले पटक पटक एकता जोगाउने काम गर्दै आउनुभएको हो । अहिले पनि तपाईं त्यो भूमिकामा गम्भीर ढंगले लाग्नु पर्यो भन्नुभएको छ,’ सुवेदीले भने । जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएको प्रेस सहयोगी सुवेदीले बताए । गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागेका छौं । पार्टी एक रहन्छ, म व्यक्तिगत रुपमा पनि यो पक्षमा क्रियाशिल छु’भनेका थिए । शनिबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच तनावपूर्ण संवाद भएपछि महासचिव विष्णु पौडेलले नेकपा एकीकृत अस्तित्व संकटमा परेको बताएका थिए । त्यसपछि पनि विवाद समाधानमा कतैबाट पनि ठोस पहल नभएकै बेला राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमसँग भेट गरेकी हुन् । आइतबार प्रचण्डले सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको दाबी सुनाएका थिए । विगतमा नेकपामा शक्ति संघर्ष हुँदा गौतमले ६ बुँदे प्रस्ताव सारेर पार्टी एकताका लागि पहल गरेका थिए । नेकपाको तनावमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएकी छन् । कतिपय मुद्दामा त उनले ओली र प्रचण्डबीच मध्यस्थताको भूमिकासमेत खेलेकी छन् ।