काठमाडौं । चिकित्सा शिक्षाको सुधार सहित विभिन्न ६ बुँदे माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न सत्तारुढ दल नेकपाले आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अनसन फिर्ता लिन आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कोरोना महामारीको बेलामा अनसन बस्नु उपयुक्त होइन, बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, केसीका यस अघिका माग पूरा भइसकेका छन्, कोरोनासँग लड्ने बेलामा अनसन बस्नु सुहाउँदो भएन, प्रवक्ता श्रेष्ठले भने, बाँकी भएका मागहरुका बारेमा परिस्थिति सङ्लिएपछि छलफल गरौँला।
सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. केसीलाई अनसन तोड्न आग्रह गरिएको बारे जानकारी गराएका थिए ।
यसअघि आजै केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका थिए। उनले डा. केसीका मागका विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन नगरेको बताए । मैनाली ३ जनाको टोलीको नेतृत्व गर्दै डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्तपाल पुगेका थिए।
२३ दिनपछि डा केसीलाई भेट्ने मैनाली पहिलो सरकारी अधिकारी हुन्। उनले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह गरेपनि केसीले अस्वीकार गरेको डा. केसीका सहयोग प्रितम सुवेदी बताए। डा. केसीले सरकारका प्रवक्ताले यसअघि नै त्यही कुरा सार्वजनिक रूपमा गरिसकेकाले त्यतिका लागि मात्रै दुःख नगरेको भएपनि हुने जवाफ दिएको उनले बताए।
उनले आफ्ना मागका विषयमा छलफल गर्न आधिकारिक वार्ता टोली बनाएर पठाउनुपर्ने बताए । डा. केसीको स्वास्थ्य नाजुक भइरहँदा सरकारले संवनदहीनता देखाएको भन्दै नागरिक तहबाट व्यापक विरोध भइरहेको छ।