काठमाडौं । शनिबार विभिन्न प्रयोगशालामा ९ हजार १६५ जनाको पिसिआर परीक्षण गर्दा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ८ लाख ४० हजार ५२७ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५३६ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय संख्या १५ हजार ११७ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७, ३८७ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११७३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३८,६९७ छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर १६९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।