काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति पक्राउ गरेको हो। किनमेलका लागि बाहिर निस्केका बेला युवतिमाथि एसिड प्रहार भएको हो।
ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ नागार्जुन नगरपालिका ४ नजिकै एसिड प्रहार भएको थियो। युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
भारतीय नागरिक मुन्नाले आलमको निर्देशनमा ती युवतीलाई एसिड प्रहार गरेको बयान दिएका छन् । पक्राउ परेका दुवै जना महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् ।