काठमाडौँ । समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले उनलाई सांसद र पार्टीबाट बर्खास्त गरेको छ । पार्टीका महासचिव रामसहाय यादवका अनुसार पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको छ ।
सांसद गिरीको कारबाहीको बारेमा गठन भएको कार्यदलले उनलाई कारबाही गर्न गरेका सिफारिस अनुसार कारबाही भएको बताइएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।
प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिइनन् । उल्टै उनले संविधान संशोधनका लागि भएको चुनावमा समेत अनुपस्थिति देखाइन ।
त्यसपछि पार्टीले उनलाई ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएकी थिइन । तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिश गरेको थियो