काठमाडौं । इनफ इज इनफका अभियन्ता प्रहरी हिरासतबाट शनिबार दिउसो छुटेका छन् । उनीहरुलाई अनशन बसिरहेको अवस्थामा प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएका थिए । काठमाडौं जिल्ला वडा नं. ११ थापाथली बस्ने २६ वर्षका इसान चन्द मंगलबजार स्थित पाटन कृष्ण मन्दिर अगाडीको पाटीमा अनशन बसेकै बेला प्रहरीले पक्राउ परेका थिए ।
प्रकाउ पर्नेमा अन्य चारजना अभियानकर्मीहरुमा ललितपुर महालक्ष्मी–२ इमाडोल बस्ने वृजराज थापा, काठमाडौं–३१ मैत्रीटोल बस्ने बिशाल विक्रम निरौला, ललिपतुर–२३ धापाखेल बस्ने समुन्द्र कुमार फुयाल र काठमाडौं–९ सिनामंगल बस्ने गोमेश सिंह रहेका महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी तुल बहादुर कार्कीले जानकारी दिए ।
कार्कीले भने, ‘उहाँहरुलाई शुक्रवार राती नियन्त्रणमा लिएका थियौं । आज १२ बजे सम्झाई बुझाई छोडिदिएका छौं ।’
सरकारले कोभिड १९ को उचित व्यवस्थापन नगरेर संक्रमण फैलिएको अभियानले आरोप लगाउँदै आएको छ । सरकारलाई पीसीआर टेस्ट बढाउनुपर्ने, आरडीटी टेस्ट बन्द गर्नुपर्ने, क्वारेन्टाईनको उचित प्रवन्धन गर्नुपर्ने माग समेत अभियानले गर्दै आएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुलाई आज दिउसो १२ बजे छाडिदिएपछि फेरी १ बजेदेखि अनसन बस्न शुरु गरेका छन् ।