काठमाडौं । अन्ततः नेपालमा सलह किरा प्रवेश गरेको छ । यो फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलह भित्रिएको पुष्टि गरेका हुन् । नेपालमा सलह प्रबेश गरे लगत्तै कृषि मन्त्रालयले आकस्मिक रुपमा बैठक बोलाएको छ ।
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ ।यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।
यो फट्याङग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।