Logo

आइतवार, आश्विन २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

दैनिकी न्यूज

९, आषाढ २०७७
महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
images

ललितपुर । सोमबारबाट चलिरहेको ३ दिने आठौं नगरसभामा नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले आउँदो आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

महालक्ष्मीले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) शङ्कास्पद एवं अन्य विरामीका लागि ४ वटा एम्बुलेन्स सेवा दिनुका साथै बन्दाबन्दी भएको अवधिदेखि सोमबारसम्म ५७० जनालाई निःशुल्क एम्बुलेन्स सेवा तथा पाँच चरणमा करिब १ हजार ३ सय जनाको कोरोना परीक्षण पनि गरिसकेको जनाएको छ ।

महालक्ष्मीले नगरप्रोफाइल तयार, आगामी दुई वर्षमा नगरका ६ मिटरभन्दा बढी चौडा सडकहरु कालोपत्र, वडा ८ र ९ का सार्वजनिक जग्गामा सुविधा सम्पन्न पार्क, नगरपालिकाभित्र अब बन्ने नयाँ भवनमा सिल्ड गरेको सेप्टी टयाङ्की र सोकपिट राखेर शैचालय निर्माण गर्नुपर्ने व्यवस्थालाई कडाई गर्ने जानकारी गराएको छ ।

भूकम्प पीडितहरुको समस्या समाधान गर्न महालक्ष्मीले नक्सा स्वीकृतमा ५० प्रतिशत छुट, विद्युत र टेलीफोनको तारलाई भूमिगत व्यवस्थापन, वडा भित्रको सार्वजनिक जग्गाको खोजी, सिमङ्कन, संरक्षण र उपयोगमा सम्बन्धीत वडालाई जिम्मेवार बनाउने, कृष्णमन्दिर मानेदोभान मूल निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन सङ्घ र प्रदेश सरकारसँग पहल, नगरपालिका भित्रका ग्यासका खानीहरुको संभावनका लागि अध्ययन र सम्बन्धीत निकायमा पहल, करको दर वृद्धि नगरिने, नगरपालिकाबाट लिइने सिफारिस र सर्जमिन आदिमा कुनै शुल्क वा दस्तुर नलिने घोषणा पनि गरेको छ ।

महालक्ष्मीले कृषि उत्पादनको हानी नोक्सानीमा राहात तथा क्षतिपूर्तिका लागि कृषक राहात कोष स्थापना गर्ने भएको हो । नगरपालिकाले कम्पोष्ट र प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन, वडा नं १० मा बाख्रापालन र वडा ७, ८ र ९ लाई गाइपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने जनाइएको छ ।

महालक्ष्मीले बाँझो जमीनमा खेती गर्ने व्यवस्था मिलाउने, माध्यमिक तहका विद्यार्थीहरुलाई कृषि कर्ममा प्रयोगात्मक रुपमा संलग्न गराई कृषि क्षेत्रलाई कृषि शिक्षालयको रुपमा विकास गरी नगरपालिकाभित्र फलोरी क्लचरको प्रवद्र्धनमा उच्च प्राथमिकता दिने भएको छ ।

महालक्ष्मीमा पुष मसान्तभित्र घर बहाल कर तिर्ने करतादाताहरु मध्ये १० जनालाई गोलाप्रथाबाट सम्मान, नगरपालिकाभित्र सबैलाई न्यूनतम रोजगारी उपलब्ध गराउन श्रम बैंक स्थापना, नगरपालिकाभित्रको समूह वा सहकारीमा आवद्ध भई उद्यम गर्न चाहने प्रत्येक वडाका २०÷२० जनालाई एकदेखि तीन महिने सीपमूलक तालिम, बीउपूँजी, प्रविधि हस्तान्तरण, कर्जा सहजीकरण गर्नुका साथै एकजनाले पाँच जनालाई रोजगारी सिर्जना गर्न सक्ने बनाई आगामी आर्थिक वर्ष भित्र नगरक्षेत्रका एक हजार जनालाई रोजगारी सिर्जना गराउने भएको लक्ष्य अघि सारेको छ ।

नगर लघु उद्यम ग्राम स्थापना गर्ने
महालक्ष्मीले यहाँ उत्पादन हुने ढाका, सुकुल, माटोको भाँडाकुँडा, हस्तकलाका घरेलु उद्योगहरुलाई व्यवस्थीत र प्रोत्साहन गर्न नगर लघु उद्यम ग्राम स्थापना गर्नुका साथै व्यवसाय सञ्चालन गर्दा लाग्ने वार्षिक करमा २५ प्रतिशत छुटको व्यवस्था पनि गरिदिने भएको छ ।

सहकारीका सदस्यको क्षमता विकासको लागि महालक्ष्मीले २० र संस्थाले ८० प्रतिशत लागत साझेदारीमा विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । यसैगरी नगरपालिकाले छाडा कुकुरहरुको बन्ध्याकरण पनि गरिदिने भएको छ ।

महालक्ष्मीले पर्यटन र धार्मिक क्षेत्र विकासको लागि वडा नं १ कृष्णप्रणमी मूल मन्दिर परिसरमा अन्तरराष्ट्रिय, वडा ५ र ८ मा नेवारी र वडा १० मा तामाङ् सङ्ग्रहालय स्थापना, श्रृङ्गऋषि गुफालाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास, लुभुलाई औद्योगिक क्षेत्र, सिद्धिपुरलाई सांस्कृतिक नगरी, लामाटार र लाकुरी भञ्ज्याङ्लाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।

महालक्ष्मीमा आर्थिक विकास तथा पर्यटकीय पूर्वाधारहरु विकास गर्न मनमोहन पार्क तथा भ्यू टावर, लाकुरीभञ्ज्याङ्ग खेल मैदान, भैरवस्थान र गणेशमान पार्क निर्माणको डीपीआर तयार गरी विभिन्न निकायहरुमा योजना कार्यान्वयनका लागि बजेट माग गरिरहेको बताइएको छ ।

महालक्ष्मीले नगरभित्रको प्रमुख सार्वजनिक स्थानहरुमा फ्रि वाईफाई जोनको व्यवस्थालाई विस्तार गर्दै लाने, सङ्घीय सरकारबाट लमाटारमा सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण, एक शैक्षिक संस्था एक उघम कार्यक्रम सञ्चालन गरी शिक्षालाई उत्पादनसँग आवद्ध, नगपालिकामा एक युवा सूचना केन्द्र स्थापना, नगरक्षेत्रभित्र कम्तीमा एक घर एक स्नातक अभियान सञ्चालन गर्ने जनाएको छ ।

महालक्ष्मीले स्वच्छ र सफा वातावरण निर्माणका लागि हरेक घरमा हरियाली र पोषणको लागि एक फलफूलको विरुवा रोप्ने नीति अवलम्बन गरिने बताएको छ ।

महालक्ष्मीले खानेपानी व्यवस्थापनका लागि नगर खानेपानी परिषद गठन, डीप बोरिङ्ग कार्यालाई व्यवस्थित, अब निर्माण हुने घरहरुमा वर्षातको पानी सङ्कलन गर्न रिचार्ज पिट निर्माण, प्राचीन, ढुङ्गेधारा, पाखरीहरु, कुवा, पँधेरो, ईनार लगायतका सम्पदा एवं पानीको स्रोतहरुको संरक्षण गर्नुका साथै ग्राउण्ड वाटर रिचार्जका लागि पोखरीहरु निर्माण गर्ने भएको छ ।

यसैगरी महालक्ष्मी नगरक्षेत्रका सात स्थानमा लिफ्टिङ प्रविधिसहितको निर्माण कार्य अन्तिम चरणमा, खानेपानीको व्यवस्थापनका लागि नगरपालिका भित्रका १६ स्थानमा भूमिगत पानीको स्रोत सम्भाव्यता अध्ययन गर्ने कार्य काठमाडांै उपत्यका खानेपानी वोर्डसँगको समन्वय, वडा १ देखि ४ सम्म मेलम्ची खानेपानी आयोजनाको पाइपलाईन विस्तार कार्यको सर्भे तथा डिपिआर निर्माण कार्य सम्पन्न भइसकेको छ भने वडा नं ५ मा पाइप लाईन विस्तारको सर्भे तथा डिपिआर तयारी कार्य शुरु मात्र भएको जनाएको छ ।

महालक्ष्मीले नगरपालिका गठन भएको तीन वर्षसम्ममा करिब ३५ कि.मि सडक ग्राभेल तथा टेवा पर्खाल लगाई स्तरोन्नती, १२ कि.मि सडक कालोपत्रे, १४ कि.मि सडक ढल तथा ड्रेन निर्माण, आठ कि.मि सडक ढलान तथा ब्लक छाप्ने काम सम्पन्न गर्नुका साथै वडा ९ र १० मा करिब चार कि.मि पैदल र साइक्लिङ मार्ग निर्माण गरिसकेको छ ।

महालक्ष्मीले देशकै अग्रणी मानक मावनमलमूत्र व्यवस्थापन, छात्राहरुर्ला निःशुल्क स्यानिटरी प्याड वितरण, परियोजनामा आधारित व्यवहारिक शिक्षण सिकाइ पद्धतिको शुरुआत, शिक्षालाई संस्कृति र प्रकृतिसँग जोड्न स्थानीय पाठयक्रम लागु, प्राविधिक शिक्षाको विस्तार, नगरभित्रका संस्थागत विद्यालयमा अनिवार्य रुपमा १० प्रतिशत छात्रावृति, नगरिक्षेत्रका गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई प्राविधि शिक्षा अध्ययनको लागि छात्रावृति, श्रमबैंक निर्माण र कार्यान्वयन, उद्यमशीलता विकास कोष सञ्चालन, साझेदारी शासन, सूचना प्रविधिको प्रयोेग गराएको छ ।

महालक्ष्मीले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धाका लागि हरेक वडामा दिवा विश्राम केन्द्र स्थापना र बालबालिकाका लागि चिल्ड्रेन पार्कहरु निर्माण गर्ने, महालक्ष्मीमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नगरपालिकाको प्रत्येक चौमासिकमा थप रु ५०० र दिर्घरोग लागेका विपन्न नागरिकहरुको यातायात खर्च वापत रु सात हजारलाई निरन्तरता दिने जनाएको छ ।

यसैगरी महालक्ष्मीमा प्रदेश तथा सङ्घीय सरकारसँगको सहलगानीमा राधाकृष्णमार्ग–सुन्दरमार्ग, कृष्ण मन्दिर–गोदावरी खोला सडक, लुभू गोदावरी खोला–माथिल्लो चौतारा सडक निर्माण कार्य सञ्चालनमा रहेको छ भने सिद्धिपुर स्कुलचोक देखि विष्णुडोल शङ्खादेवी सडकको स्तरउन्नती एवं कालोपत्रे गर्ने काम पनि शुरु भएको जानकारी गराएको छ ।

महालक्ष्मीले तीन वर्ष भित्रमा स्वास्थ्य तर्फ लुभू प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नतीका लागि पहल, सो केन्द्रमा रेडेन्ट वार्मर, इ.सि.जि, बर्थिङ सेन्टर, नगरक्षेत्र भित्रका ९४ प्रतिशत बालबालिकामा खोप सेवा सुविधा, किष्ट अस्पतालसँग सम्झौता गरी नगरवासीलाई १५ प्रतिशत छुटको व्यवस्था , किष्टमा कोरोना प्रभावितका लागि ६० शैयाको आइसोलेसन वार्डका साथै २२ शैयाको आइसीयूको पनि व्यवस्था गरिरहेको छ ।

महालक्ष्मीले हालसम्म १२ वटा ऐन, ३ वटा नियमावली, १९ वटा कार्यविधि, ३ वटा निर्देशिका र दुई वटा नियम गरी जम्मा ३९ कानुन निर्माण गरी कार्यान्वयमा ल्याएको उक्त नीति तथा कार्यक्रममा बताइएको थियो ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - २०:४१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology