काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाटलाई सहज बनाउन निर्देशन दिएको छ । आयोगले मन्त्रालयले जग्गा कित्ताकाट सम्बन्धी निर्णयबारे नागरिकमा सहि सूचना प्रवाह नभएको र कर्मचारीले अनावश्यक दुःख दिइरहेको निष्कर्ष सहित आयोगले कित्ताकाटलाई सहजीकरण गर्न निर्देशन दिएको हो ।
आयोगले मन्त्रालयलाई १० बुँदे सुझाव दिँदै जग्गाको आधुनिक नापी नक्सा प्रणाली अनुसार लगत राख्ने र कित्ताकाटलाई सहज बनाउन पनि निर्देश गरेको छ । अख्तियारको यो निर्देशन पश्चात जग्गा कारोबारीहरूले व्यवसाय फस्टाउने ग्रीन सिंगल देखेका छन् ।
मन्त्रालयबाट कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा पटकपटक निर्णय भई मातहतका कार्यालयहरूमा निर्देशन जारी गरेपनि हाल जग्गा कित्ताकाटको सम्बन्धमा समस्या रहेको बताएको छ । आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जग्गाको कित्ताकाटलाई सहज बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सुझाव दिएका बताएका छन् ।