ललितपुर । नख्खु कारागारको सुरक्षा मंगलबारदेखि नेपाली सेनाले दिन थालेको छ । कारागारको सुरक्षामा राजदल गणका सेनाको टोली खटिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए ।
प्रजिअ भट्टका अनुसार प्रहरीलाई सीमा सुरक्षामा पठाउने भएकाले सेना खटाइएको हो । ‘त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाउने गरी कटौती गरियो,’ भट्टले भने, ‘सोही ठाउँमा माथिकै परिपत्रअनुसार सेना खटाइएको हो ।’
कारागारको सुरक्षाका लागि खटाइएका ससस्त्र प्रहरीलाई हटाइपछि सेनाले सुरक्षा दिन थालेको प्रजिअ भट्टले बताए । यसअघि ८० जना शशस्त्र प्रहरीले कारागारको सुरक्षा दिएको नख्खु जेलका जेलर मोहन अधिकारीले जानकारी दिए । हाल सेनाका ६२ जनाको टोली सुरक्षार्थ खटिएको छ । कारागारमा अहिले १६ सय जना कैदीबन्दी रहेका अधिकारीले बताए । ४५ रोपनी क्षेत्रफलमा कारागार फैलिएको छ ।
नियमित अदालती काम कारवाहीको लागि नेपाल प्रहरी यथावत रहेको ललितपुर परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए । हाल सईको नेतृतवमा ४० जना प्रहरी कार्यरत छन् ।
नेपाली सेनाले ३२ गते ५ स्थान र असार १ मा २६ स्थानमा सेना परिचालन गरेको हो । ती कारागार र आयोजनाहरूमा सेना तैनाथ राखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सबै कार्यालयहरूमा सेना परिचालन गरिसकिएको छ । ‘सरकारको निर्णय अनुसार हामीले कारागारको सुरक्षार्थ सेना खटाएका छौं,’ उनले भने, ‘यसअघि मन्त्री परिषद्को निर्णयले महत्वपूर्ण प्रतिष्ठान, आयोजना र कारागारकोे सुरक्षार्थ सेना परिचालन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ससस्त्र प्रहरी र नेपाल प्रहरी फिर्ता बोलाइएपछि सो क्षेत्रको सुरक्षा जिम्मेवारी सेनाले सम्हालेको छ ।
यो पनि पढ्नुहोस
कारागार, महत्वपूर्ण प्रतिष्ठान र आयोजनाको सुरक्षाको जिम्मा सेनालाई (हेर्नुहोस सूचि)