Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरका सरकारी तथा गैरसरकारी कार्यालय आजदेखि खुले

ललितपुरका सरकारी तथा गैरसरकारी कार्यालय आजदेखि खुले

दैनिकी न्यूज

१, आषाढ २०७७
ललितपुरका सरकारी तथा गैरसरकारी कार्यालय आजदेखि खुले
images

ललितपुर । लकडाउनको ८३ दिनपछि सोमबारदेखि सरकारी तथा गैरसरकारी कार्यालयहरु खुलेका छन् । सरकारको निर्णयअनुसार दुई सिफ्टमा गरी सोमबारबाट ललितपुरका सरकारी कार्यालयहरु खुलेका हुन् । बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि सञ्चालनमा आएका छन् । लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे पनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ । कार्यालय प्रवेश गर्नु अगाडि सामाजिक दूरी कायम गर्दै तापक्रम लिने गरिएको छ । कतिपय कार्यालयमा हातमा सेनिटाइजर तथा हात धोएर कार्यालय भित्रसमेत सामाजिक दूरी कायम गर्नुपर्ने बताइएको छ । सेवाग्राहीहरुले समेत सेवा लिन जाँदा सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

ललितपुर महानगरपालिकामा आज १५८ सेवाग्राही आएका छन् । महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता तुल बहादुर कार्कीका अनुसार १० जना सेवग्राही सेवा लिन प्रहरी कार्यालय आएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सोमबार ६५ जनाले जिल्ला बाहिर जाने पास लिएका, ११ जनाले पासपोर्ट, ५ जनाको नयाँ नागरिकता, ६ जनाले प्रतिलिपि, ३ जना नावालक परिचय पत्र र मुद्धा शाखामा ६ जनाले सेवा लिएको बताए ।

मन्त्रिपरिषद्को जेठ २८ गते बसेको बैठकले सोमबारदेखि कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो भए पनि मानिसको भीडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमतिप्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलनलगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - १८:३६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology