Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोरोना विरूद्ध ट्राफिक प्रहरीले देखायो प्लेकार्ड

कोरोना विरूद्ध ट्राफिक प्रहरीले देखायो प्लेकार्ड

दैनिकी न्यूज

३२, जेठ २०७७
कोरोना विरूद्ध ट्राफिक प्रहरीले देखायो प्लेकार्ड
images

काठमाडौँ । कोरोना भाइरस (कोभिड – १९) को जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट सडक प्रयोगकर्ताहरूमा हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाएको जानकारी दिए ।

यसको लागि प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभावी हिडँडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन् ।

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूवाट काठमाडौ उपत्यकाको ८२ स्थानमा दुईसय भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख ढकालले बताए । उनले भने –“यस विशेष टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न, जोर विजोर नियम पालना गर्न, सामाजिक दुरी कायम गर्न, जथाभावी हिडँडुल नगर्न, भिडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन् ।’’

आजदेखि दैनिक विहान ९ बजेदेखि ११ बजेसम्म र वेलुकी ४ बजेदेखि ७ बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । “यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाईरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ” श्रेष्ठले भने ।

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १४:१२:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology