काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य गगन कुमार थापाले सरकारले कोरोना संक्रमण तथा रोकथामका नाममा अवौं रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले दश अर्व रुपैयाँको हिसाव देखाउन सभामुख अग्नि सापकोटामार्फत सरकारसँग माग गरे ।
‘दश अर्ब खर्च कहाँ गयो ? हामीलाई यसको हिसाव चाहिन्छ’, थापाले भने, पाँच वटा पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाव देखाउनु पर्दैन ? हामीलाई एक एक रुपैयाँको हिसाव चाहिन्छ । यस्तो राष्ट्र विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब लिप्त भएको यो निर्लज्जताको पाराकाष्टा हो ।’
सांसद थापाले क्वारेन्टिनमा बसेका नेपालीको पीसीआर परीक्षण नगरेको भन्दै तीव्र असन्तुष्टि जनाए । उनले क्वारेन्टिन मान्छे मार्ने क्याम्प भएको भन्दै सरकारले यसबारेमा जवाफ दिनुपर्ने बताए ।
‘क्वारेन्टिनमा एक लाख ६६ हजार बस्छन भनेर प्रधानमन्त्री आरामले भनिरहनुभएको छ । मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो रु हामीलाई यसको जवाफ चाहिन्छ ।’
अदालत, संसद र विज्ञले भने, पीसीआर परीक्षणको दायरा बढाऊ भनिरहेका बेला सरकारले कुनै ध्यान दिएको प्रति गम्भीर असन्तुष्टि जनाउँदै सांसद थापाले सुदुरपश्चिममा स्वाव परीक्षण रोकिएको छ, प्रदेश २ का दशौ हजार मानिसहरुको रिपोर्ट नआएको विषयलले सरकारको असक्षमता देखिएको टिप्पणी गरे ।
देशका नागरिक कोरोनाको परीक्षण नभएर छटपटाइरहेका बेला सरकारले परीक्षणको दायरा साघुरो बनाउँदै छ, अब क्वारेन्टिनमा बसेका मानिसको पीसीआर परीक्षण नगर्ने रे ? मरेको मान्छेको स्वाव संकलन नगर्ने रे । अब संक्रमित मानिसलाई १४ दिन क्वारेन्टिन राखेपछि घर पठाउने बेलामा पनि परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ परीक्षण नै बन्द गर्दिने, अनि नेपाललाई कोरोना मुक्त देश भनिदिने’, व्यंग गर्दै सांसद थापाले भने, परीक्षण नभएपछि संक्रमित एक जना पनि देखिदैन यसको जवाफ चाहियो जिम्मा कसले लिने हो ?’
प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? केही कर्मचारीलाई सरुवा गरेर दोषबाट भाग्न पाइदैँन ।