काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टर बढुवामा ढिलाई हुने भएको छ । डिएसपी बढुवा तथा पदस्थापना भएसँगै इन्स्पेक्टर बढुवाको लागि दौडधुप सुरु भएपनि प्रहरी प्रधान कार्यालयले तत्काल बढुवा नगर्ने छाट देखाएको छ ।
यसअघि ३७ जना इन्स्पेक्टर डिएसपीमा बढुवा भएका थिए । उक्त कोटामा हाल सई पदमा रहेकाहरुलाई बढुवा गर्नुपर्ने हुन्छ । २०५८, २०५९, २०६० र २०६१ सालका प्रहरी नायब निरीक्षक (सई) का करिब १०७ जना इन्स्पेक्टर अहिले दौडमा रहेका छन् ।
त्यही दौडमा २०६२ का सई पनि रहेकोले इन्स्पेक्टर बढुवा झन रस्साकस्सी हुने देखिएको छ । बढुवा गर्नेमध्ये धेरैजसो भिआईपीको सुरक्षाका खटिएकाहरु छन् । तीनलाई बढुवा गर्न झन् समस्या हुने देखिएको प्रहरी स्रोतले जानकारी दियो । भिआईपीको सुरक्षामा खटिएका सईहरु करिब २५÷३० रहेका छन् ।
२०६२ सालका सई हुनेहरु भिआईपीहरुको सुरक्षामा रहेकोले आईजिपीलाई दबाब पर्न थालेको छ । ‘हाललाई बढुवा प्रक्रिया रोकिने देखिएको छ,’ इन्स्पेक्टरको बढुवामा अरु भन्दा अलि जालझेल हुन्छ,’ प्रहरीको एक स्रोतले भन्यो ।
आईजिपी ठाकुरप्रसाद ज्ञवाली पनि आउँदो असार २५ गते अनिवार्य अवकाशबाट बिदाई हुने भएकोले उनले जोखिम मोल्न नचाहेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार ७३ जना सईलाई आन्तरिक रुपमा इन्स्पेक्टरमा पदोन्नति गर्ने बताइएको छ ।