ललितपुर, जेठ ११ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ चाउखेका एक ३९ वर्षिय युवक केरोना संक्रमित भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार ४ बजेको नियमित प्रेस ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नुवाकोट ककनीका ३९ वर्षिय पुरुष पनि कोरोना संक्रमण देखिएको पुष्टि गरेका थिए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आए पनि उनको भने पोजेटिभ आएको हो ।
काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो । कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो । ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो ।
सिसीटोलमा गत जेठ ६ गते पिसिआरबाट चेकजाँच गर्दा ती युवकमा कोरोना संक्रमण भेटिएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । उनले भने, ‘उहाँलाई कोरोना पुष्टि भएको हामीलाई आइतबार बिहान ११ बजे खबर आयो ।’, दैनिकीन्युजसँग उनले भने, ‘संक्रमित व्यक्ति कहिले ललितपुर, कहिले नुवाकोट गर्नुहुँदोरहेछ, लकडाउनको समयमा उहाँ धेरै पटक आउ जाउँ गर्नु भएको रहेछ ।’ उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी ललितपुरको भैसेपाटी बस्ने गर्दथे । ललितपुरमा राहत वितरणमा उनी क्रियाशिल रहेका थिए । ललितपुरमा रहेका राजनीतिक दलका नेताहरुसँग निकट सम्पर्कमा रहेको उनी निकट स्रोतले जनायो । संक्रमित युवकले जिल्लाका जनप्रतिनिधिलाई समेत भेटेका थिए ।
उनको ट्राभल हिष्ट्रि ललितपुर खुल्न आएसँगै ललितपुर प्रहरीले भैसेपाटीमा उच्च सतर्कता अपनाएको डिएसपी सन्तोष तामाङले जानकारी दिए ।
आज संक्रमित युवक अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि आइतबार साँझ उनी आफैँ मोटरसाइकल चलाएर टेकु अस्पतालतर्फ गएका गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । ती युवकलाइ खोज्दै प्रहरी गाउँ पुगेका थिए ।