काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकीकरण हुने भएको छ ।
तत्कालका लागि आगामी चुनावमा कार्यगत एकता गरी पार्टी एकीकरण चुनाव लगत्तै गर्न नेताहरु सहमत भएका हुन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने छलफल भइरहेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा असोज १६ गते बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसाल बताउँछिन् । “पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको छ, अन्तिम निर्णय गर्नका लागि अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ”, भुसालले भनिन् ।
सोमवार करिव छ घण्टासम्म बसेको माओवादी केन्द्र सचिवालयको बैठकले गठन गरेको वार्ता समितिलाई आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल संगै मुलुकको आवश्यकतालाई पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको बताइएको छ ।
यसअघि आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो ।
आज मंगलवार एमालेका नेताहरुसंग वार्ता गरेर निर्णय लगत्तै भएको माओवादी केन्द्र र एमाले बिच पार्टी एकता नभए पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्य गर्ने देखिएको छ ।
एमाले र माओवादी केन्द्रको यो निर्णयले गैरबामदलहरुलाई एक्ल्याउने स्पष्ट संकेत देखा परेको छ ।
।