ललितपुर, । ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको जग्गा भाडामा लगाउने विषयले रेडियो नेपाल र महानगरपालिकाबीच विवाद बढेको छ ।
रेडियो नेपालको रिपिटर टावर रहेको खुमलटार ट्रान्समिटिङ्ग स्टेशनको मूलबाटो उत्तर तर्फको ४२ रोपनी जग्गा भाडामा लगाउने विषयले महानगरपालिकासँग विवाद बढेको हो । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले ललितपुर महानगरपालिका साविक वडा नं. ५ स्थिति खुमलटार प्रसारण केन्द्रको कित्ता नं. २४७, २४८ समेत करिब ४२ रोपनी जग्गा प्रति रोपनी मासिक भाडा ४१ हजार ५१ रुपैया दिने गरी श्री कुबेर ज्ञान हाउजिङ्ग कम्पनीलाई दिएपछि महानगरपालिकासँग विवाद चुलिएको हो ।
सरकारी क्षेत्रलाई भन्दा बाहेक अरुलाई भाडामा लगाउन नपाईने सरकारी नियम हुँदा हुँदै नियम मिचेर रेडियो नेपालले नीजि कम्पनीलाई जग्गा भाडामा लगाउने निर्णय गरेको थियो । तर, महानगरपालिकाले नीजि कम्पनीलाई कुन प्रयोजनको लागि जग्गा भाडामा लगाइएको हो खुलाउन आग्रह गर्दा उक्त सूचना नदिएपछि विवाद बढेको स्रोतको भनाई छ । कुबेर ज्ञान हाउजिङ्ग कम्पनीले भाडामा लिएको जग्गामा घेरावेरा (पर्खाल) लगाउन थालेपछि महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले नगरप्रहरी बोलाई निर्माण कार्य रोकेका छन् । ‘स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय नै नगरी रेडियो नेपालले जसरी नियम विपरीत नीजि क्षेत्रलाई जग्गा भाडामा दिएको छ त्यसप्रति हाम्रो असहमति छ,’ – वडाअध्यक्ष मिश्र भन्छन् ।
वडा अध्यक्ष मिश्रका अनुसार वडा नं. १५ मा कुनै पनि ठाउँ खुला नभएकोले रेडियो नेपाललको उक्त जग्गालाई विपतका बेलामा प्रयोग गर्ने गरिएको छ । वडा कार्यालयले मिति २०७४ पुस २२ गते सूचना तथा संचार मन्त्रालय र महानगरपालिकालाई पत्र काटी कुनै पनि बेला प्राकृतिक विपदी आउन सक्ने भएकोले सो जग्गा खुला राख्न अनुरोध गरिएको छ । तर, ‘आर्थिक चलखेलमा परेर रेडियो नेपालले नियम विपरीत भाडामा लगाएपछि हामीले त्यसको विरोध गरेका हौं’, वडाध्यक्ष मिश्रले भने ।
रेडियो नेपालका निर्देशक बुद्धि बहादुर केसी भने ४२ रोपनी जग्गा भाडामा लगाउँदा शिलबन्दी बोलपत्र आव्हान गरिएको र सोही आधारमा भाडामा लगाइ सकेको हुनाले उक्त निर्णयमा पूर्नविचार नहुने बताउँछन् । स्रोतका अनुसार उक्त जग्गा भाडामा लगाउँदा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । यो पनि हेर्नुहोस ....