ललितपुर । उमेर, पेसा र जिम्मेवारीले प्रतिभा प्रदर्शन गर्ने अवसरलाई सीमित गर्दैन भन्ने उदाहरण बनेकी छन् व्यवसायी तथा मोडल रोजी श्रेष्ठ। उनले थाइल्यान्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा एकैपटक तीनवटा उपाधि जित्दै नेपालको प्रतिष्ठा बढाएकी छन्। शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुराको उनले जानकारी दिएकी हुन् ।
१६ देशका प्रतिस्पर्धी सहभागी ‘क्लासिक मिसेस एसिया इन्टरनेसनल’ मा श्रेष्ठले ‘मिसेस एसिया फ्रेन्डसिप विनर’, ‘मिसेस ट्यालेन्ट क्विन’ र ‘मिसेस कन्फिडेन्स एसिया’ उपाधि जितेकी हुन्।
प्रतियोगितामा उनले सौन्दर्य र आत्मविश्वाससँगै नेपाली मौलिक कला तथा संस्कृतिलाई पनि प्रस्तुत गरिन्। कुमारी नृत्यमार्फत नेपालको परम्परा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने प्रयास गरिन्। उनको प्रस्तुतिले प्रतियोगितामा नेपालको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको थियो।
यसअघि ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड’ को उपाधि जितेकी श्रेष्ठ व्यवसायमा पनि लामो समयदेखि सक्रिय छिन्। २५ वर्षदेखि व्यवसायमा आबद्ध उनी गायन र मोडलिङमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी छन्।