Logo

बिहिवार, आश्विन १ गते २०८३

images

विश्वकर्मा पूजा तथा वास्तु दिवस आज मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस आज मनाइँदै

दैनिकी न्यूज

१, आश्विन २०८३
विश्वकर्मा पूजा तथा वास्तु दिवस आज मनाइँदै
images

काठमाडौं । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा कालिगढ, श्रमिक तथा विभिन्न उद्योग–कलकारखानामा कार्यरत व्यक्तिले विश्वकर्माको पूजा गर्ने परम्परा छ।

यस अवसरमा उद्योग, कारखाना, वर्कसप तथा अन्य कार्यस्थलमा भगवान् विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी विशेष पूजाआराधना गरिन्छ। कतिपय स्थानमा बालुवा तथा अन्य सामग्रीबाट विश्वकर्माको मूर्ति बनाउने र पूजा सम्पन्न भएपछि नदी वा अन्य धार्मिक स्थलमा लगेर विसर्जन गर्ने चलनसमेत छ।

विश्वकर्मा पूजाका दिन काममा प्रयोग हुने औजार, मेसिन तथा विभिन्न उपकरणको पूजा गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार यसरी औजारको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा समस्या नआउने र काममा सफलता प्राप्त हुने विश्वास छ। यही विश्वासका कारण इन्जिन तथा मेसिन जडित सवारीसाधनको समेत पूजा गर्ने प्रचलन छ।

हिन्दू धार्मिक मान्यतामा विश्वकर्मालाई वास्तु तथा निर्माणकलाका ज्ञाताका रूपमा लिइन्छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको मान्यताका कारण विश्वकर्मालाई उत्कृष्ट वास्तुविद्का रूपमा सम्मान गर्ने परम्परा रहेको बताइन्छ।

विश्वकर्माले निर्माण गरेको भनिएको द्वारका भारतको गुजरातमा समुद्र क्षेत्रमा रहेको धार्मिक विश्वाससमेत पाइन्छ। प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिने धार्मिक मान्यता छ।

विश्वकर्मालाई वास्तुशास्त्रका विशिष्ट ज्ञाता मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ पनि उनकै रचना भएको धार्मिक विश्वास छ। यही मान्यताका आधारमा कालिगढ तथा प्राविधिक क्षेत्रमा आबद्ध व्यक्तिले विश्वकर्मा पूजालाई आफ्नो सीप, औजार र पेशासँग जोडेर मनाउँदै आएका छन्।

यसै दिन वास्तुशास्त्रका अध्येता तथा वास्तुविद्ले वास्तु दिवस पनि मनाउने गर्छन्। नेपालमा पछिल्ला वर्षमा परम्परागत वास्तुविद्याप्रति चासो बढ्दै गएको छ। स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय समेटिएको मान्यता छ।

परम्परागत वास्तुज्ञानमा आधारित सहर तथा आवास निर्माणप्रति चासो बढेसँगै नेपालमा वास्तुविद्याको महत्वसमेत विस्तार हुँदै गएको बताइन्छ। विश्वकर्मा पूजा भने श्रम, सीप, औजार तथा निर्माणकर्मप्रति सम्मान व्यक्त गर्ने पर्वका रूपमा पनि मनाइन्छ।

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०६:५९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology