काठमाडौँ । दिवंगत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदैछ। गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाउने परम्परा छ।
गाईजात्राका दिन एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर टोल तथा सहर परिक्रमा गराउने चलन छ। परिक्रमा गराउने क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा द्रव्य दान गर्ने गर्छन्। यसरी नगर परिक्रमा गराएमा मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने धार्मिक विश्वास छ।
गाईजात्रा सुरु हुनुको सम्बन्ध राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्रशोकमा रहेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको ऐतिहासिक मान्यता छ। आफ्नो परिवारमा मात्र नभई सबैले आफन्त गुमाउने अवस्था आउने देखाउन उनले यस्तो परम्परा सुरु गराएको बताइन्छ।
रानीको दुःख कम नभएपछि विभिन्न प्रहसन, नाचगान तथा व्यङ्ग्यात्मक कार्यक्रम गर्नसमेत आदेश दिइएको जनश्रुति छ। त्यसपछि गाईजात्रामा हास्यव्यङ्ग्य र सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने परम्परा विकास भएको मानिन्छ।
गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजदरबार हुँदै गाई वा गाईका रूपमा सिँगारिएका मानिसलाई परिक्रमा गराउने परम्परा अझै कायम छ। देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनक देखिन्छ।
पर्वका अवसरमा प्रहसन, सामाजिक विकृति र विसंगतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति, नाचगान तथा मृतकको सम्झनामा रामायणका करुण रसका गीत गाउने गरिन्छ। हास्य कलाकारहरूले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्।
काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको बाक्लो बसोबास रहेका सहरमा गाईजात्रा विशेष रूपमा मनाइन्छ।
सरकारले गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ। तर यस वर्ष गाईजात्रा शनिबार परेकाले छुट्टै सार्वजनिक बिदा परेको छैन।