Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

दैनिकी न्यूज

११, आश्विन २०८३
आजदेखि सोह्र श्राद्ध सुरु
images

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ। यस अवधिमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने धार्मिक परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा पितृलाई श्रद्धापूर्वक सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यसलाई पितृ पक्ष, अपर पक्ष र प्रेत पक्षसमेत भनिन्छ।

वैदिक सनातन परम्परामा चाडपर्व तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई सम्झने चलन छ। पितृ पक्षमा श्राद्ध गरी पितृप्रति आफ्नो दायित्व पूरा गर्ने धार्मिक विश्वास रहिआएको छ। यसबाट पितृ ऋणबाट मुक्त भइने मान्यता पनि छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध नछोड्न शास्त्रमा उल्लेख गरिएको उनले बताए।

कुनै कारणले तोकिएको तिथिमा श्राद्ध गर्न नसके वैकल्पिक व्यवस्था पनि शास्त्रमा गरिएको छ। सामान्यतः दिवंगत पिताको तिथिमै श्राद्ध गर्नुपर्ने विधान छ। आपत् परेको अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने धर्मशास्त्रविद्हरू बताउँछन्।

त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने व्यवस्था छ। त्यस दिन पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने उल्लेख धर्मसिन्धुमा रहेको बताइएको छ।

धर्मशास्त्रमा आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने विकल्पसमेत दिइएको छ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा. डा. भट्टराईका अनुसार त्यसपछि पनि श्राद्ध गर्न नसकिए दैनिक १०८ मन्त्र जप गर्ने विकल्प शास्त्रमा छ। यस्तो जप आफैँले वा असमर्थ भए ब्राह्मणमार्फत गर्न सकिने र विधिपूर्वक १० महिनासम्म जप गर्नुपर्ने धार्मिक मान्यता रहेको उनले बताए।

धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध बिहानै नभई अपराह्नकालमा गर्नुपर्ने बताएका छन्। कतिपय पुरोहितले आफ्नो सुविधाअनुसार बिहानै श्राद्ध गराउने गरेको जानकारी आए पनि त्यो शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। दसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्धसँगै बडादसैँको समयसमेत केही पछि सरेको छ।

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - ०९:०६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology