Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

प्रधानमन्त्री शाह बाढी प्रभावित विदुर क्षेत्रको स्थलगत निरीक्षणमा

प्रधानमन्त्री शाह बाढी प्रभावित विदुर क्षेत्रको स्थलगत निरीक्षणमा

दैनिकी न्यूज

११, भाद्र २०८३
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुर क्षेत्रको स्थलगत निरीक्षणमा
images

नुवाकोट । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। बिहान ९ः३० बजे प्रधानमन्त्री शाहको टोली नुवाकोटतर्फ गएको हो। प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि निरीक्षण भ्रमणमा सहभागी छन्।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहतमा खटिएका सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए।

आजको निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले विदुर नगरपालिका तथा आसपासका बाढी प्रभावित बस्तीमा पुगेर क्षतिको अवस्था प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम छ। उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग भेट गरी तत्कालीन राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने बताइएको छ।

समय अभावका कारण प्रधानमन्त्रीको टोलीले आज मुख्य रूपमा विदुर तथा आसपासका प्रभावित क्षेत्रको मात्रै निरीक्षण गर्ने जनाइएको छ।

स्थलगत निरीक्षणपछि बाढीबाट प्रभावित क्षेत्रको वास्तविक क्षतिको मूल्यांकन गरी राहत, पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणका लागि थप आवश्यक कदम चाल्न सहज हुने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - ११:४०:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology