ललितपुर । दक्षिण ललितपुर ग्रामीण बिधुत सहकारी संस्थाको चुनावी सरगर्मी बढ्दै गएको छ । दक्षिण ललितपुरमा बिधुत सम्बन्धि सबै काम गर्ने सहकारी दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको आगामी पौष २१ गते बाईसौ साधारण सभा हुने मिति तय गरेसँगै चुनावी सरगर्मी बढेको हो ।
संस्थाको साधारणसभाबाट ४ वर्षको लागि नयाँ सञ्चालक समिति निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन उपसमितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेसँगै निर्वाचनसम्बन्धी कार्य अगाडि बढेको छ ।
यो पटक हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेसँगै चुनावी माहोल गर्माएको छ । हालका अध्यक्ष गोविन्द बजगाई, भिमसेन आचार्य र हरि न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएसँगै अब को बन्ला त बिधुत सहकारीको अध्यक्ष भन्ने आम उपभोक्ता तथा सर्वसाधारणलाई चासोको विषय बनेसँगै चिया पसल तथा चोक चोकमा चर्चा परिचर्चा हुन थालेको छ ।
निर्वाचनमा उमेदवारी दिएका गोबिन्द बजगाईले कुसलतापुर्वक लामो समय कर्मचारी तथा २ कार्याकाल अध्यक्ष भै उपभोक्ता माझ लोकप्रिय छन । उनले २ कार्यकाल पूरा गरिसकेको र अब नयाँलाई अवसर दिनुपर्ने कुरा आईरहेको अवस्थामा लामो समयदेखि खानिखोला हाईड्रो पावरमा काम गरेको अनुभव, बिद्युत सम्बन्धि काममा सक्रिय रहेको, विद्युत प्राधिकरणसँग राम्रो सम्बन्ध भएको, दक्षिण ललितपुरको भुगोल समस्या र चुनौतसँग राम्रो ज्ञान भएको कारण भिमसेन आचार्यको उमेदवारी उपर्युक्त रहेको विश्लेषण हुन थालेको छ ।
राजनीतिकर्मी तथा समाजसेवी हरि न्यौपानेले समेत अध्यक्षमा उमेदवारी दिएसँगै चुनावमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिन्छ । सरल स्वभावका मिजासिला न्यौपाने सामाजिक सेवामा पोख्त अनुभवी व्यक्ति भएकोले उनको उमेदवारीलाई समेत निकै चासोको साथ आम उपभोक्ताहरुले हेरेका छन ।
निर्वाचन उपसमितिले निर्वाचन सम्बन्धि काम सुरु गरेसँगै यहि पौष १४ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै १५ गतेदेखि प्रचारप्रसार सुरु भएको छ । प्रचारप्रसार पौष १९ गतेसम्म हुनेछ ।
संस्थाको वाईसौ साधारणसभा २०८० पौष २१ गते चापागाउँ वेलकम पार्टी प्यालेसमा हुँदैछ भने सोही दिन १०ः३० देखि ४ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात् मतगणनागरी सोही दिन मतपरिणाम घोषण गर्ने कार्यतालिका रहेको निर्वाचन उपसमितिले जनाएको छ ।
२०५४ साल असोज ७ गते दक्षिण ललितपुर विद्युतीकरण अभियान समिति गठन भई विद्युतीकरणको काम शुभारम्भ गरेको, २०५७ साल श्रावण १७ गते नेपालको पहिलो विद्युत सहकारीको रूपमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको स्थापना भएको र २०६१ साल भाद्र २ गतेबाट मात्रै देविचौरको प्रेमप्रसाद बजगाँईको घरबाट दक्षिण ललितपुरमा विद्युतीकरण सुरु भएको (बत्ती बाल्ने काम सुरु भएको) हो । हाल दक्षिण ललितपुका सवै वडामा सहकारीमार्फत विद्युत् बलिरहेको छ ।
यो संस्था ललितपुर जिल्लाभर कार्यक्षेत्र रही दक्षिण भेगका कोन्ज्योसोम, महाङ्काल, बागमति गाउँपालिका र गोदावरी नगरपालिकाको वडा नं. ७ देवीचौरलाई समेटेर विद्युतिकरण तथा ग्राहक सेवा सञ्चालन क्षेत्र कायम गरी सहकारी संस्था सञ्चालन गरिरहेको छ । यसबाट सात हजार घर परिवार विद्युत सेवाबाट लाभान्वित भएका छन् ।
दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि. नेपालको पहिलो विद्युत सहकारी संस्था हो ।