Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर–३ का मतदाता भन्छन्– पम्फालाई नै जिताउँछौँ

ललितपुर–३ का मतदाता भन्छन्– पम्फालाई नै जिताउँछौँ

दैनिकी न्यूज

२६, कार्तिक २०७९
ललितपुर–३ का मतदाता भन्छन्– पम्फालाई नै जिताउँछौँ
images


ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी जनयुद्धको बलमा गठन भएको संविधानसभाद्वारा अधिकारसम्पन्न स्थानीय सरकार गठन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नं ३ का उम्मेदवार रहनुभएका उहाँले ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा घरदैलोका क्रममा माओवादीकै कारण महिला, आदिवासी जनजाति, दलित, पिछडिएका क्षेत्र र वर्गका नागरिकले अधिकार प्राप्त गरेको बताउनुभयो ।

“सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत प्रतिधित्व सुनिश्चित गरिएको छ, स्थानीय तहमा ४० प्रतिशतसम्म महिला प्रतिनिधित्वको व्यवस्था छ”, उहाँले भन्नुभयो, “प्रदेशसभामा पनि ३३ प्रतिशत महिला हुनुपर्नेछ, सभामुख÷उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।”

माओवादी जनयुद्धको बलमा लेखिएको संविधानले नै नेपालमा महिला राष्ट्रपति, सभामुख तथा प्रधानन्यायाधीश बन्ने अवस्था सिर्जना गरेको जनाउँदै उहाँले आसन्न निर्वाचनमा निर्णायक तहमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टी माओवादीलाई विजयी गराउन आग्रह गर्नुभयो ।

सानोभन्दा सानो कामका लागि सिंहदरबार धाउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको उहाँको भनाइ थियो । “हामीले जनताको घरआँगनमा सिंहदरबार भन्यौँ, यहाँ ललितपुर महानगरबाट हामीले त्यो सुविधा लिइरहेको छौँ”, माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका मन्त्री भुसालले भन्नुभयो, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अहिले ललितपुर महानगरपालिकाभित्रै छन्, जन्मदेखि मृत्युसम्म, साना विकास निर्माणका काम अहिले स्थानीय सरकारबाट हुन्छन् ।”

नीति निर्माणमा सङ्घीय सरकार, विकास निर्माणमा प्रदेश सरकार र सेवा प्रवाहमा स्थानीय सरकारलाई प्रभावकारी बनाउने माओवादीको नीति रहेको जनाउँदै उहाँले सङ्घीयताको मर्म र भावना अनुसार यसलाई प्रभावकारी बनाउन माओवादीको जित आवश्यक भएको बताउनुभयो । “साना काम स्थानीय तह, मझौला योजना प्रदेशले सम्पन्न गर्ने गरी हामी सङ्घीयतामा गयौँ”, उम्मेदवार भुसालले भन्नुभयो, “केन्द्रले विकास निर्माणका ठूल्ठूला आयोजना सञ्चालन गर्छ, ऐन, कानून र बजेट बनाउने छ ।”

संविधानले महिला, दलित, जनजाति, आदिवासी, मुस्लिम, पिछडिएका वर्गको राज्यका कुनै न कुनै निकायमा प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उहाँले समावेशीताको अभ्यास विश्वका कतिपय मुलुकमा भन्दा नेपालमा उन्नत रहेको बताउनुभयो ।

स्थानीयलाई सुरक्षित यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा चक्रपथको ललितपुर खण्डमा आकाशेपुल निर्माणका लागि ठेक्का लगाइएको जानकारी दिँदै उहाँले तत्काल उक्त क्षेत्रमा पुल निर्माण गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उम्मेदवार भुसालले यसअघि आफू निर्वाचित भएपछि शुरु भएका योजना सम्पन्न गर्ने र आगामी दिनमा जनताको आवश्यकताअनुसार नयाँ योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ललितपुर क्षेत्र नं ३ मा वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिनुभएका मन्त्री भुसालले एक साताका अवधिमा प्रदेशसभाका उम्मेदवारसँगै निर्वाचन क्षेत्रका मतादातासँग अन्तरक्रिया गर्नुभएको छ । घरदैलोका क्रममा उहाँले खोकनाको ऐतिहासिक वस्ती संरक्षण गर्ने, ललितपुरका कला, संस्कृति, सम्पदकाको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, स्थानीय जात्रा, पर्व तथा परम्परालाई स्थानीयको सहभागितामा संरक्षण गर्ने, जनताको आवश्यकताअनुसार पूर्वाधार निर्माणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यही कात्तिक १८ गतेदेखि घरदैलो अभियान थाल्नु भएका उहाँले हालसम्म निर्वाचन क्षेत्रका अधिकांश स्थानमा पुगी मतदातासँग साक्षात्कार गर्नुभएको छ । उहाँले ललितपुरका २२ वडामध्ये १९ वटा वडाको घरदैलो सम्पन्न गर्नुभएको छ । घरदैलोका क्रममा मतदाताले जनताको अपेक्षा पूरा गर्न लागि पर्ने विकासप्रेमी नेत्री भुसाललाई निर्वाचनमा अत्यधिक मतसहित विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - २०:५३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology