ललितपुर । नेकपा (माओवादी) सहितको सत्ता गठबन्धन ललितपुरको बैठक बस्दैछ । जिल्लामा रहेका ६ स्थानीय तहको भागवण्डा टुंगो लगाउने विषयमा छलफल गर्न जिल्लामा रहेका सत्ता गठबन्धनको बैठक बोलाइएको काङ्ग्रेस ललितपुर सभापति जितेन्द्र श्रेष्ठ मलेखुले जानकारी दिए ।
जिल्लामा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीबीच दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
माओवादी केन्द्रका ललितपुर इन्चार्ज हरि दाहाल ‘ललित’ले संयन्त्रको पहिलो बैठक बस्न लागेको बताए ।
उनका अनुसार जिल्लामा रहेका ६ वटै स्थानीय तहको भागवण्डा बाडफाट गर्न छलफल हुन लागेको हो ।
ललितपुरमा एक महानगर, गोदावरी र महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिका छन् ।
माओवादी केन्द्रले दुई गाउँपालिका र एक नगरपालिका पाउनुपर्ने बताएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले पनि एक नगरपालिका र एक गाउँ पालिका दाबी गरेको छ ।
आजको छलफलले जिल्लामा रहेका ७१ वटा वडा विभाजन गरि भागबन्डा टुंगो लगाउन संयन्त्र बनाउने सम्भावना छ ।
वैशाख ३० गते हुने निर्वाचनमा ललितपुरमा साना ३१ दल दर्ता भएका छन् । निर्वाचन कार्यालय ललितपुर प्रमुखका अनुसार राष्ट्रिय पार्टी रहेका ६ दल सहित ललितपुरमा ३७ दलले स्थानीय निर्वाचनमा भाग लिनेछन् ।
ललितपुरमा महिला १ लाख २४ हजार ९५० र पुरुष १ लाख १८ हजार ९३३, अन्य एक जना गरी कुल २ लाख ४३ हजार ८८५ मतदाता छन् । अन्यमा रहेका एकजनाले सर्वोच्चमा मुद्दा जितेर महिला बनेकी छन् ।