ललितपुर । एमसीसी सम्झौता खारेजीको माग गर्दै बुधबार आह्वान गरिएको नेपाल बन्दको प्रभाव ललितपुरमा सामान्य परेको छ । विभिन्न ६ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आव्हान गरेको हो ।
बन्दको त्रासले ललितपुरका अधिकांश विद्यालयहरू खुलेका छैनन् । बन्दको प्रभाव ललितपुरमा खासै परेको छैन। यद्यपि सवारीसाधन भने अघिल्लो दिनको तुलनामा केही कम चलेका छन्। बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् ।
ललितपुरका मुख्य मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्। बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबीच पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताए । शाहका अनुसार उनीहरुलाई लगनखेलको बटुकभैरव, मंगलबजार, महालक्ष्मीस्थान र बल्खु एरियाबाट नियन्त्रणमा लिएको हो ।
एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी, मोधन बैद्य नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिपि गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी दलले ऐक्यबद्धता रहेको छ ।
बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।