काठमाडौं । रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको अभियोगमा ललितपुरका एक कांग्रेसका नेतासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेका हुन् । उनी माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनसँग पराजित भएका थिए । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा उनी महासमिति सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै १३ औं महाधिवेशनमा ललितपुर जिल्लाको पार्टी उपसभापतिमा समेत निर्वाचित भएका थिए ।
फागुन २ गते बौद्ध इलाकामा केही ब्यक्तिहरुले विभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्दैछन् भन्ने प्रहरी प्रधान कार्यालय, नक्सालबाट सादा पोशाकमा परिचालित प्रहरीको बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीबाट काठमाण्डौं–६ बौद्ध स्थित ह्यायत रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट २ के. जि. ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई निजहरुले भारतबाट ल्याई प्रति के जि ३५ करोडमा बिक्री गर्न लागेको र उक्त कार्यमा विभिन्न ब्यक्तिहरुहरुको समेत मिलेमतो एबं संलग्नता रहेको भन्ने खुल्न आएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ।
प्रहरीले आज बरामद पदार्थको परिक्षणका लागि पठाउने छ । कालो छालाको जस्तो देखिने कभरले प्याकेट जस्तो बनाई राखेको अवस्थामा बरामद वस्तु परिक्षणपछि मात्र युरेनियम भए नभएको यकिन हुनेछ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका वडा नं. १४ घर भई बस्ने वर्ष ६० को नवराज महत, सिन्धुपाल्चोक जिल्ला मेलम्ची–१ घर भई हाल काठमाण्डौं जिल्ला बुढानिलकण्ठ–१० कपन बस्ने बर्ष ३४ को भुपेन्द्र खड्का, हेलम्बु गाउँपालिका वडा नं.४ घर भई हाल काठमाण्डौ–६ महाँकाल बस्ने बर्ष ४० को रामकृष्ण लामिछाने, सिराहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं, ठमेल बस्ने बर्ष ४० को गोपिलाल दास, सिराहा वरियापारपट्टी गाउँपालिका वडा नं. १ घर भई हाल ठमेल बस्ने बर्ष ५५ को जिवछ नारायण यादव, महोत्तरी जिल्ला घर भई हाल काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं. ७ शिवचोक बस्ने बर्ष ३८ को सुरेन्द्र प्रसाद चौधरी, भारत देश बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएकका बर्ष ६३ को उपेन्द्र कुमार मिश्र र भारद देश महोत्तरी जिल्ला एकाडारा ६ बगैया कलुवा घर भएका बर्ष ४४ को राजु ठाकुर रहेका छन् ।
प्रहरीले उनीहरुबाट बा ५ च ८२०९ नं को प्राइभेट कार, २ के.जि. ८०० ग्राम तौल भएको युरेनियम भनिएको पदार्थसहितको झोला, बा २६ प १६२८ नं को होण्डा कम्पनीको मोटर साइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ बीर गोर्खाज सेक्युरिटीको परिचय–पत्र र बिभिन्न कम्पनीको ९ थान मोबाइल सेटहरु समेत बरामद गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्धामा ७ दिन म्याद थप अनुमति प्राप्त गरी महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।