काठमाडौं । आइतबार देशभरका अदालत बन्द हुने भएका छन्।
पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गर्न लागिएको हो। सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो।
सोहीअनुसार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु आज बन्द हुनेछन्। उहाँको शनिबार अन्त्येष्टि गरिएको थियो।
पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा यही माघ ५ गते निधन भएको थियो। २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्माले २०५४ चैतदेखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश भएर काम गरेका थिए।