ललितपुर । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटीका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले ललितपुरका ६ वटै स्थानीय तहमा भोलि एकसाथ अधिवेशन गर्दैछ ।
अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ ।
सबै पालिकाको नेतृत्व सर्वसम्मत चुनिने माओवादी केन्द्र, ललितपुरका इन्चार्ज हरि दाहाल ‘ललित’ ले बताए ।
उनका अनुसार सात पदाधिकारीसहित महानगरपालिकामा ९९, नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ । जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था छ ।
ललितपुर महानगरपालिकाको अधिवेशन विहान १२ बजे डिलाइट पार्टी भेन्यू महालक्ष्मीस्थान, महालक्ष्मी नगरपालिकाको अधिवेशन विहान ७ः३० बजे सिद्धिपुर पार्टी प्यालेस, गोदावरी नगरपालिकाको अधिवेशन विहान १० बजे सनराइज सभा हल गोदावरीमा हुने माओवादी केन्द्रका नेता शिव प्रसाद कट्टेलले बताए ।
त्यस्तै बागमती गाउँपालिकाको अधिवेशन विहान ११ बजे वागमती गाउँपालिका वडा नं. ३ भट्टेडाडा, कोन्ज्योसोम गाउँपालिकाको अधिवेशन विहान १० बजे कोन्ज्योसोम–१ चौघरे, महांकाल गाउँपालिकाको अधिवेशन विहान ११ बजे कोप रिसर्ट गोटीखेल हुने माओवादी केन्द्र बागमती प्रदेशका सदस्य गंगा पराजुलीले जानकारी दिइन ।
पालिका तहको निर्वाचनका लागि निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको इन्चार्ज दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने दाहालको भनाइ छ ।
माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ ।
गत शनिबार देशभरका वडामा एकसाथ अधिवेशन भएको थियो ।
लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको नेता कट्टेलको भनाई छ ।
वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ ।
प्रदेश तहको अधिवेशन यही मंसिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।