ललितपुर । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आजबाट शुरु हुँदैछ । जावलाखेलस्थित स्टाफ कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचनको कार्यक्रम भोली रहेको छ । उनले भने, ‘आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोली हुनेछ ।’
चुनावको लागि रामकृष्ण चित्रकारले छुट्टै प्यानल बनाएका छन् भने जितेन्द्र कुमार श्रेष्ठ र मीनकृष्ण महर्जनको प्यानल संयुक्त रहेको छ । जिल्ला अधिवेशनमा सभापति हुनका लागि कुल मतको ५१ प्रतिशत ल्याउनु पर्ने भएकोले सभापतिका ३ जना उम्मेदवार हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पु¥याउन सक्दैन । मीनकृष्ण महर्जन र जितेन्द्रबीच दोस्रो चरणाका लागि बढि मत ल्याउनेलाई सहयोग गर्ने समझदारी भएको हो ।
चित्रकारलाई कांग्रेसका सभापति मदन बहादुर अमात्य, पूर्वसांसद चन्द्र महर्जन, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनलगायतका नेताको दर्बिलो समर्थन र साथ रहेको छ ।
जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ । दुबैले संयुक्त प्यानल बनाएर घोषणा गरेपनि जितेन्द्रले पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने एक प्रतिनिधिले दैनिकीन्युजसँग बताए । ती प्रतिनिधिका अगाडि मीनकृष्णको प्रचार मात्र बढी छ तर आम मतदाताको मन जित्न गाह्रो छ । मीनकृष्ण प्रहरीको सूचिमा पनि गुण्डाको रुपमा रहेको छ ।
ललितपुर कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा पक्ष विभाजित भएको छ । ललितपुरमा देउवा पक्ष ३ समूहमा छिन्नभिन्न भएको छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा देउवा समूहका मदन बहादुर अमात्य, उदयशमशेर राणा, प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकार, नवराज महत तीनतिर बाँडिएका छन् ।
चित्रकारको टीममा उपसभापतिमा खोमप्रसाद घिमिरे र गजेन्द्र महर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।
उता, राणालगायतका नेताहरूले मीनकृष्णलाई सभापतिमा समर्थन गर्ने भएका छन् ।
ललितपुर कांग्रेस सभापतिका लागि जितेन्द्र कुमार श्रेष्ठले छुट्टै प्यानल बनाउने तयारी गरेका छन् । प्रकाशमान सिंह निकट श्रेष्ठलाई प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकारलगायतको समर्थन छ ।
केन्द्रमा भने अमात्य र राणा दुवै देउवा पक्षका हुन् ।