काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् ।
‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।
पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन् ।
पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न दिइएन रावलले पार्टी कार्यालय थापाथलीबाट उम्मेदवारी घोषणा गर्न नपाएको पनि गुनासो गरेका छन् ।