चितवन । भरतपुर महानगरपालिकाले भोलि (सोमबार) विकास वहस कार्यक्रम आयोजना गर्दैछ। चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशक लगायतको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्न लागिएको महानगरपालिकाले जनाएको छ।
महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै महानगरलाई थप सम्मृद्ध बनाउन आवश्यक पूर्वाधार विकासका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी वहस गर्न लागिएको हो।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक कार्यक्रममा सहभागी हुनेछन् । उनीहरुसँगै जिल्लाका सरोकारवालाको उपस्थितिमा सोमबार बहस कार्यक्रम आयोजना गरिने दाहालले बताइन्।
विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा कार्यक्रममा छलफल हुने छ।
नारायणी तटबन्धनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । प्रतिवेदनअनुसार तटबन्धको लागि २३ अर्ब खर्च हुने छ। जसलाई वहुवर्षीय आयोजनामा राखेर यस वर्ष पाँच अर्ब बजेट निकासाका लागि अनुरोध गरिँदै छ।
धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको छ । यसलाई सरकारले लिएर काम गर्नुपर्ने बहस सुरु भएको छ । महानगरको ४० वर्ष पुरानो प्रशासनिक भवन जीर्ण बनेको छ । भवनको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । जसका लागि निर्माण गर्न ८५ करोड खर्च लाग्ने भन्दै अर्थ मन्त्रालयसँग बजेट माग गरिएको छ।
शाक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणलाई छिटो गर्ने, नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक बजेट माग गर्ने, रिङरोड सम्पन्न गर्नेलगायत कार्यक्रम बहसमा राखिँदै छन्।
महानगरको धेरै भाग चितवन क्षेत्र नम्बर ३ मा पर्छ। यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका हुन्। उनकै उपस्थितिमा बहस गर्दा कार्यक्रम प्रभावकारी हुने महानगरको बुझाइ छ।
महानगर प्रमुख दाहालले यसअघि गरिएको यस्ता कार्यक्रम प्रभावकारी भएको भन्दै यसले महानगरसँगै जिल्लाको समग्र विकासका लागि सहयोग पुग्ने बताइन्। रासस