बुटवल । महाधिवेशन प्रतिनिधि छनोट हुन नपाएपछि एमाले नेता एवं पूर्व कृषिराज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश कमिटी सदस्य र रुपन्देही ४ को सहइन्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शनिबार पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला अध्यक्ष शिवराज सुवेदीले व्यक्तिगत रीसइबीका कारण महाधिवेशन प्रतिनिधि हुन रोकेपछि पार्टीका सबै पदबाट राजीनामा दिएको बताए । महाधिवेशन प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्नसमेत उनले नेतृत्वसमक्ष माग गरे । ‘महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी भयो । मधेशी र मर्चवारको विकासका लागि बोलेकै आधारमा मलाई प्रतिनिधि बनाइएन,’ उनले कान्तिपुससंग टेलिफोनमा भने, ‘पार्टी सदस्यका रुपमा रहेर घटनाको निष्पक्ष छानबिनका लागि आफ्ना पद र जिम्मेबारीबाट राजीनामा दिएको हुं,’ उनले भनेका छन् ।