Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

दैनिकी न्यूज

३, मंसिर २०७८
सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु
images

काठमाडौं । काठमाडौं, रोल्पा, सप्तरी, धनुषा र मोरङका छुट्टाछुट्टै स्थानामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-११ माईतीघर मण्डलास्थित जेब्राक्रसिङमा बागमती प्रदेश ०२ -०२४ प ६७७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना
हुँदा मोटरसाइकलमा सवार काभ्रे पाँचखाल नगरपालिका घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माईतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा, माडी गाउँपालिका-२ जलजलास्थित सडकमा दाङ घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना.३ ख ५५१८ नम्बरको बस सडकबाट करिब १ सय फिट तल खसेर
बिहीबार साँझ दुर्घटना हुँदा गाडीमा सवार ३ जना पुरुष र १ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार १९ जनामध्ये ३
जनाको प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँ, ११ जनाको जिल्ला अस्पताल र ५ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

सप्तरी, कंचनरुप नगरपालिका-८ बेरियर चोकस्थित सडकमा ना.५ ख ४६९२ नम्बरको बसले बा.४ ख ५०७९ नम्बरको हाईस गाडीलाई बिहीबार दिउँसो ठक्कर दिंदा हाईसमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङ बिराटनगर महानगरपालिका-८ बस्ने ४० वर्षीय बसन्त बिक्रम राणाको घटनास्थलमै र गम्भीर घाइते भएका बिराटनगर महानगरपालिका-३ बस्ने ४१ वर्षीय चुडा बाहदुर बस्नेतको उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको
स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरी, खडक नगरपालिका-६ विरपुरस्थित सडकमा स.१ त ६२५६ नम्बरको ट्याक्टरले बा.९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिई ट्याक्टर सडकबाट ५ मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सिरहा नरहा गाउँपालिका-३ पांडा बस्ने ६५ वर्षीया काखी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ७ जनामध्ये मोटरसाइकल चालक र ट्याक्टरमा सवार २ गरी ३ जनाको छिन्नमस्ता अस्पताल राजबिराजमा र अन्य ४ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, विदेह नगरपालिका-७ बेलापट्टीस्थित सडकमा जनकपुरबाट खजुरीतर्फ जाँदै गरेको ज.१ त ९६४९ नम्बरको ट्याक्टरलाई अनटेष्ट लेखिएको ट्याक्टरले ओभरटेक गर्ने क्रममा बाटोबाट अन्दाजी २ फिट तल खेतमा पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत सितामढी बेला थाना सिरसिया गाउँ बस्ने ६० वर्षीय राम दयाल राय यादव र सोही ठाउँ बस्ने ४५ वर्षीया अमृता देवी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामाघाइते भएका अन्य १८ जनामध्ये ११ जनाको सोही अस्पतालमा र ७ जनाको राम जानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ११ जनाको अवस्था गम्भीर, ६ जना मध्यम र १ जनाको अवस्था सामान्य रहेको छ । ज १ त ९६४९ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार अनटेष्ट लेखिएको ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित सडकमा प्र.२-०२-००३ प २१८९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले बिहीबार राति ठक्कर दिँदा
मोटरसाइकल चालक धनुषा जनकपुर नगरपालिका-३ बस्ने २७ वर्षीय निखिल पन्जियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलामा सवार सोही ठाउँ बस्ने २८ वर्षीय राम प्रताभ साहको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रवार - १३:१३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology