काठमाडौं । काठमाडौं, रामेछाप र मकवानपुरमा भएको सवारी दुर्घघटनामा परी ४ जनाको मृत्यू भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा प्र ३–०१–००५ ख ९३०० नम्बरको बसले प्र. ३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर ईमाडोल बस्ने ५२ वर्षीय यादव कुँवर रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछाप, लिखुतामाकोशी गाउँपालिका–१ बसेरीस्थित सडकमा ना ६ त ७२८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५४ वर्षीय उद्दव राज पौडेलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक सकडमा ना ३ च ११९३ नम्बरको गाडीले ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचरको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।