हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना स्थगित गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी को केन्द्रीय बैठकलाई जानकारी दिँदै पाण्डेले डोरमणि पौडेल नेतृत्वको सरकारले अघि बढाएको सो योजना अहिले रोकिएको बताए । पौडेलले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड बजेट छुट्याएको थियो ।
सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए । विद्युत बस ल्याउने भनेर केही सांसद भारत र चीनको भ्रमण गरेको तर काम गर्ने कुनै पुर्वाधार नै तयार नपारिएको बताए । ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ,' पाण्डेले भने, 'हाललाई यो स्थगित गरेका छौं ।’ यस्तै कुलेखानी-हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए । उनले भने, बजेटको सुनिश्चितता नभएसम्म यो ५० करोड यहाा दुरुपयोग गर्नु हुँदैन भनेर हामीले हाललाई स्थगित गरका हौं ।’