Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

दैनिकी न्यूज

७, कार्तिक २०७८
प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने
images

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा आज मतदान हुँदैछ । आज बस्ने प्रदेशसभा बैठकमा आचार्यले गत शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधानका कारण आचार्य विश्वासको मत लिन बाध्य छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए । भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।

प्रदेशसभामा विद्यमान शक्ति सन्तुलनमा नाटकीय परिवर्तन नआएमा मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने आधार देखिएको छैन । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ जना सांसदहरु कायम छन् । सत्तारुढ दल नेकपा एमालेसंग सभामुखसहित ४१ सांसद छन् भने अहिलेसम्म मुख्यमन्त्रीलाई अन्य दलले समर्थन गरेको औपचारिक निर्णय गरेका छैनन् ।

सरकारको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, र लोकतान्त्रिक लिम्बुवान राष्ट्रिय मञ्च आवद्ध भएका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाको ३ र मञ्चको एकजना गरी ५० सांसद छन् । राप्रपा नेपालको एक जना सांसदभने अहिलेसम्म कुनैपनि पक्षमा खुलेका छैनन् ।

प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेको खण्डमा प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिमको सरकार गठन गर्न आव्हान गर्नुहुनेछ । प्रदेशप्रमुखले आव्हान गरेलगतै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - ०८:४८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology