Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ललितपुरमा बजार अनुगमन तीब्र, कैफियत देखिएका १९ व्यवसायीलाई कारबाही

ललितपुरमा बजार अनुगमन तीब्र, कैफियत देखिएका १९ व्यवसायीलाई कारबाही

दैनिकी न्यूज

१८, आश्विन २०७८
ललितपुरमा बजार अनुगमन तीब्र, कैफियत देखिएका १९ व्यवसायीलाई कारबाही
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ । कालोबजारी, मुल्य सूचि नराखेको, विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता नभएको, उत्पादन मिति नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त नभएको लगायतका कैफियत देखिएका १९ व्यवसायीलाई कारबाही गरेको छ ।

संयुक्त बजार अनुगमन टोलीले असोज ७ गतेदेखि १७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई १ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना तिराइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

अनुगमन टोलीले पुल्चोक स्थित सुमेरु सिटी हस्पिटललाई २० हजार जरिवाना तिराएको छ । सरकारले तोकिएको भन्दा एन्टिजेन परीक्षणमा बढी शुल्क लिएको पाइएपछि कारवाही गरिएको हो ।

त्यस्तै मानवभवन स्थित बिगमार्टलाई व्यवसाय दर्ता नगरेको, बजार अनुगमन समितिले दिएको निर्देशन पालना नगरेकोले २० हजार जरिवाना तिराइएको छ ।

सबै वस्तुको मूल्य सूचि, दर्ता प्रमाणपत्र देखिने गरी नराखेकोे पाइएका जेसवाल स्टोर सानेपा, गुलाब पाटन भाटभटेनी, एरोमा हिमालयन कफी लगनखेल, रोडहाउस पिजरियालाई १०÷१० हजार जरिवाना तिराइएको छ ।

यस्तै लगनखेलस्थित कफी बगानलाई ३ हजार, क्लिफ रेष्ट्रोलाई ५ हजार, डल्ले रेष्टुरेष्गट पुल्चोकलाई १० हजार, लेभल ३ टेरेसलाई ५ हजार, मःम हव पाट भाटभटेनीलाई २ हजार ५ सय, नेवारी किचेन, पाटन भाटभटेनीलाई ५ हजार, डोको फुड पाटन भाटभटेनीलाई २ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।

कैफियत देखिएका हाउस अफ मःम एण्ड पाटन भाटभटेनी सुपरमार्केटलाई ५ हजार, आहारा हाउस प्रालि पाटन भाटभटेनीलाई २ हजार ५ सय, सर्किना टेड्रर्स गुसिङ्गाल, कृष्ण स्टोर गोदावरी–११ चापागाउँ, पिविएन गोदवारी–११ चापागाउँलाई ५÷५ हजार जिरिवाना तिराइएको छ ।


यस्तै जेएस लिक्वर्स सप, नखिपोटले विद्यालय परिसरमा मदिरा पसल सञ्चालन गरेको भन्दै पसल बन्द गरी आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । उक्त पसल जनप्रतिनिधिले संचालन गरेको खुलेको छ ।

अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, उत्पादन मिति भए÷नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा दर्ता भए÷नभएको, लगायत विविध पक्षको जाँचबुझ गरिएको बस्नेतको भनाई छ ।

सहायक प्रजिअ बस्नेतको नेतृत्वमा रहेको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ, महानगरीय प्रहरी परीसर, ललितपुर महानगरपालिका, नेपाल पत्रकार महासंघका प्रतिनिधि रहेको समिति रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - २२:०२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology