जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ भनिएको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । केन्द्रदेखि प्रदेशसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेकाले मुख्यमन्त्री राउतले प्रदेशसभामा सहजै विश्वासको मत लिन सक्छन् ।
जसपासँग ३९, सत्तामा सहभागी कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद छन् ।
प्रदेश २ मा कुल १ सय ७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारवाही गरेपछि अहिले १ सय ४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।